logo
  • २०८२ जेष्ठ १ | Thu, 15 May 2025
  • कैलालीमा भ्रष्टाचारविरुद्ध ‘निसाना’, ३६ जनाका ५० वटा कार्टुन प्रदर्शनी

    कैलालीमा भ्रष्टाचारविरुद्ध ‘निसाना’, ३६ जनाका ५० वटा कार्टुन प्रदर्शनी

    कैलाली, २५ भदौ । भ्रष्टाचारमुक्त समाज निर्माणका लागि कार्टुनले सकारात्मक सन्देश दिएको सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले बताएकी छन्। कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा शुक्रबार धनगढीस्थित कैलाली जनपुस्तकालयमा ‘निसाना’ भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै उनले भ्रष्टाचार अन्त्यका लागि सबैले पहलकदमी लिनुपर्नेमा जोड दिइन्।

    उनले कार्टुनमा नेपाली समाजमा देखिएका विकृति विसंगति तथा खराब मनोवृत्तिलाई व्यंग्यात्मक रूपमा प्रहार गरिएको बताउँदै राजनीतिक दल र नेता यसबाट सतर्क रहनु पर्ने विचार व्यक्त गरेकी हुन्। जोशीले भनिन्, ‘कार्टुनमा हाम्रो समाजमा मौलाएको खराब मनोवृत्ति र आचरणलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ। समाजलाई गतिशील, सभ्य र समृद्ध बनाउन राजनीतिक दल र नेतृत्व सदाचारमा प्रतिबद्ध हुन जरुरी छ।’
    उनले कार्टुनमा प्रस्तुत विषयले दीर्घकालीन रूपमै प्रभाव पार्ने जिकिर गर्दै कलाले समाजलाई सही बाटोमा दोहोर्‍याउन मद्दत पुर्‍याउने बताइन्। उपसभामुख जोशीले भनिन्, ‘मानिसले बोलेका विषयले क्षणिक रुपमा असर गर्छ। तर, कार्टुन, चलचित्र लगायतले दीर्घकालीन रुपमै सुधार ल्याउन मद्दत पुर्‍याउँछ।’ उनले कार्टुन, चलचित्र, नाटक, साहित्य लगायतका सिर्जनात्मक पक्षले समाजलाई सही बाटोमा डोहोर्‍याउन मद्दत पुर्‍याउने विचार व्यक्त गरिन्।

    प्रदर्शनी उद्घाटन समारोहमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लक्षिराम आचार्यले भ्रष्टाचार सामाजिक अपराध भएकाले यसको अन्त्यका लागि राजनीतिक दल, सञ्चार माध्यम, नागरिक समाज, साहित्यकार, कलाकार एवं जनताले खबरदारी गरिरहनु पर्ने बताए। उनले भने, ‘समाजमा व्याप्त विकृति, विसंगति तथा भ्रष्ट मनोवृत्तिविरुद्ध सबैले सशक्त आवाज उठाउनु पर्दछ।’ आचार्यले भ्रष्टाचार सभ्य समाज र विकासको बाधक रहेको जिकिर गरे। उनले कार्टुनले नेपालको वर्तमान अवस्थालाई कलात्मक रुपमा चित्रण गर्न सफल भएको बताए।

    साहित्यकार एवं प्रलेस सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष तारामणि न्यौपानेले कार्टुनिस्ट क्लबको भ्रष्टाचारविरोधी अभियानमा सबैले साथ दिनुपर्ने बताए। समाजमा मौलाउँदै गएको भ्रष्टाचारलाई अन्त्य गर्न प्रदर्शनी सकारात्मक सन्देश प्रवाह गरेको सुनाउँदै उनले सबै स्रष्टा तथा नागरिकले खबरदारी गरिरहनु पर्ने धारणा व्यक्त गरे। नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले निसाना भ्रष्टाचारविरोधी अभियानले समाजमा व्याप्त भ्रष्टाचारको तह र त्यसका आयामलाई बुझ्न सहज भएको बताए। उनले भ्रष्टाचार अन्त्यका लागि कार्टुनिस्टको अभियानले समाजमा सकारात्मक सन्देश दिएको जनाए।

    सो कार्यक्रममा सिर्जनशील मञ्चका अध्यक्ष जनक रसिकले धनगढीमा पहिलो पटक कार्टुन प्रदर्शनी भएको जनाउँदै यो अभियानले खराब प्रवृत्तिका विरुद्ध सशक्त आवाज उठाएको बताए। उनले समाज रुपान्तरणका लागि कलाको शक्ति निकै प्रभावकारी हुने भएकाले प्रदर्शनीमार्फत कार्टुनिस्टले शक्तिशाली आवाज उठाएको विचार व्यक्त गरे। उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा नै पहिलो पटक कार्टुन प्रदर्शनी भएको हो। यो प्रदर्शनीले समाजमा झाँगिदै गएको भ्रष्टाचारलाई उदांगो पार्दै सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने आशा राख्न सकिन्छ।’

    अग्रज पत्रकार चित्रांग थापाले निसानाले समाजको यथार्थलाई उत्कृष्ट रूपमा प्रहार गरेको बताए। उनले विकृति विसंगतिविरुद्ध कार्टुनले शक्तिशाली सन्देश दिन सकेको भनाइ राखे। सो कार्यक्रममा अग्रज कार्टुनिस्ट  अविन श्रेष्ठले पहिलो पटक काठमाडौं बाहिर सातै प्रदेशमा यस प्रकारको प्रदर्शनी गरिएको बताए। उनले प्रदर्शनीमार्फत कार्टुनिस्टले प्रभावकारी सन्देशप्रवाह गर्न सफल भएको धारणा व्यक्त गरे। उनले भ्रष्टाचारविरुद्ध समाजका सबै पक्ष लाग्नुपर्नेमा जोड दिँदै सभ्य समाज निर्माणमा क्लबले आफ्नो क्षेत्रबाट अभियानको थालनी गरेको बताए।

    प्रदर्शनीमा नेपालका ३६ जना कार्टुनिस्टले तयार पारेका भ्रष्टाचारविरुद्ध सन्देश दिने ५० वटा कार्टुन राखिएको क्लबका अध्यक्ष वासु क्षितिजले जानकारी दिए। उनले पछिल्लो समय विकाससँगै भ्रष्टाचार पनि तल्लो तहसम्म पुगेको बताउँदै जनप्रतिनिधि र नागरिकलाई सतर्क बनाउन सुदूरपश्चिम प्रदेशको धनगढीमा निसाना प्रदर्शनी गरिएको बताए। उनले समाजमा व्याप्त विकृति–विसंगतिविरुद्ध रङ, रेखा र शब्दमार्फत अभियानको थालनी गरिएको विचार व्यक्त गरे। अध्यक्ष क्षितिजले भ्रष्टाचारविरुद्ध र सदाचारको पक्षमा सन्देश प्रवाह गर्न कार्टुनिस्टले ‘निसाना’ साँधेको बताए।

    उनले गत वैशाख ४ गते काठमाडौंबाट सुरु भएको प्रदर्शनीको अन्तिम प्रदर्शनी शुक्रबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुगेर समापन गरिएको जानकारी दिए। क्लबका अध्यक्ष क्षितिजले यो प्रदर्शनी केवल प्रदर्शनी मात्र नभइ भ्रष्टाचारविरुद्धको सिर्जनात्मक अभियान भएको जिकिर गरे। उनले भने, ‘हामीले यस पटक भ्रष्टाचारविरुद्धमा निसाना गरेर यसलाई सांकेतिक रुपमा प्रदर्शनीमा ल्याएका हौं। यो संकेतलाई वास्तविकतामा उतार्न सम्पूर्ण कार्टुनप्रेमी तथा भ्रष्टाचारविरोधी अभियन्ता एवं नागरिकमा आग्रह पनि गर्दछौं।’ प्रदर्शनी अवलोकन गर्न धनगढीका विभिन्न विद्यालयका विद्यार्थीलगायत नागरिक समाज, राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरूसमेत पुगेका थिए।

    क्लबले यसअघि बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, मधेश प्रदेशको जनकपुर, लुम्बिनीको बुटवल र कर्णालीको सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनी गरिसकेको क्लबका अध्यक्ष क्षितिजले जानकारी दिए। प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेशकुमार खपांगी, केशव राज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापा, सागर शाह, सुदर्शन सिग्देल, उमेशचन्द्र अधिकारी, अनुप गुरुङ, सानुराज डंगोल, अकृन अधिकारी, विरोचन मल्ल, आशिष खनाल, विष्णु अथकमनु, विश्व थापा, देव कोइमी, वामन चालिसे, महेश बस्ताकोटी, पानसिंह तमोर, रामहरि रिमाल, लगायतका कार्टुनिस्टका कार्टुन राखिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०७९ भाद्र २५, शनिबार ०६:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट