logo
  • २०८२ जेष्ठ २२ | Thu, 05 Jun 2025
  • आर्थिक वर्षको अन्त्यमा मधेशमा ३२० किलोमिटर सडकको शिलान्यास, आधा बजेट फ्रिज हुने सम्भावना

    आर्थिक वर्षको अन्त्यमा मधेशमा ३२० किलोमिटर सडकको शिलान्यास, आधा बजेट फ्रिज हुने सम्भावना

    जनकपुरधाम । चालु आर्थिक वर्ष २०८१/८२ सकिन ४२ दिन मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ भन्ने गौरवपूर्ण योजना अन्ततः कार्यान्वयनमा आएको छ । प्रदेशका ८ वटै जिल्लाका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटर कालोपत्रे सडक निर्माण कार्य सुरु गरिएको छ।

    कुल ३२० किलोमिटर सडक निर्माण हुने यस योजनाको डिजिटल शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रमा एक विशेष समारोहबीच गरेका हुन्।

    शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मधेशमा विकासको लहर सुरु भएको दाबी गरे।  ‘सडक निर्माण कार्य गुणस्तरीयरूपमा सम्पन्न भई प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास लिएको छु,’ उनले भने।

    भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले योजना बहुवर्षीय भएको बताए ।

    चालु आर्थिक वर्षमै प्रत्येक निर्वाचन क्षेत्रका लागि २–२ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयका निमित्त सचिव संजय कुमार साहले जानकारी दिए ।

    उनका अनुसार योजना कार्यान्वयन  जिल्लाका पूर्वाधार विकास कार्यालयहरू मार्फत भइरहेको छ ।
    ‘कतिपय सडकका लागि ठेक्का सम्झौता भइसकेको छ भने केही सम्झौताको प्रक्रियामा छन् । आगामी १५ दिनभित्र सबै सम्झौता सम्पन्न हुने लक्ष्य छ,’ सचिव साहले भने ।

    यद्यपि आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा निर्माण कार्यको प्रगति अपेक्षाकृत ढिलो रहेको छ। तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र आगामी दुई वर्षमा पनि प्रत्येक क्षेत्रका लागि २–२ करोड रुपैयाँ थप विनियोजन गरिने योजना छ ।

    तर ढिलोगरी कार्य प्रारम्भ भएकाले चालु वर्षको आधा बजेट फ्रिज हुने सम्भावना रहेको सचिव साहले स्वीकारेका छन्। ‘यो बहुवर्षीय योजना हो, जसको स्वीकृति प्रक्रियामा समय लाग्यो। यसै कारण यो वर्ष प्रत्येक क्षेत्रमा एक/सावा करोड सम्मको मात्र  काम हुनसक्छ, बाँकी बजेट फ्रिज हुने सम्भावना छ,’ उनले स्पष्ट पारे ।

    मन्त्रालयका अनुसार ३२० किलोमिटर सडक निर्माण सम्पन्न गर्न कुल १२ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका राजधानी पत्रिका    
  • २०८२ जेष्ठ १९, सोमबार २२:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट