महेश सिंह सिरहा-अर्नामा गाउँपालिका–३ हरकटामा पानी निकाससम्बन्धी विवाद चुलिँदै गएपछि स्थानीय तहदेखि राजनीतिक क्षेत्रसम्म चासो बढेको छ। नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि जागेश्वर यादवले उक्त विवादलाई लिएर सामाजिक सञ्जालमा गरिएका टिप्पणी र पोस्टहरू आफ्नो राजनीतिक छवि बिगार्ने नियतले गरिएका “भ्रामक र मिथ्या” रहेको बताएका छन्।
नेता यादवले पत्रकार सम्मेलन गरी आफू उक्त घटनामा कुनै पनि रूपमा संलग्न नरहेको स्पष्ट गर्दै भने, “केही व्यक्तिहरूले योजनाबद्ध रूपमा मेरो छवि धुमिल पार्ने प्रयास गरेका छन्। यस विषयमा सत्य तथ्य उजागर गर्न मैले प्रहरीमा उजुरीसमेत दिएको छु।”
उता, वडा नं. ३ का अध्यक्ष महेश यादवले भने उक्त स्थानमा पहिले भएको विवादको समाधान गरिसकिएको बताउँदै भने, “सडक ढलान गर्दा पानीको निकास नखुल्दा समस्या पुनः उत्पन्न भएको हो। जबसम्म उचित निकास खोलिँदैन, विवाद रहिरहने देखिन्छ।”
स्थानीयवासी नवीन कुमार यादवले पनि नेता जागेश्वर यादव उक्त घटनामा निर्दोष रहेको भन्दै सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई “पूर्वाग्रही र समाजमा विभाजन ल्याउने” प्रवृत्ति भनेका छन्।
स्थानीयहरूले भने सडक निर्माणका क्रममा उचित योजना नअपनाइएकै कारण वर्षेनी पानी जम्ने समस्या दोहोरिँदै आएको बताएका छन्। तर, वडा अध्यक्षले घटनाप्रति आवश्यक ध्यान नदिएको भन्दै केही बासिन्दाले असन्तुष्टि जनाएका छन्। यसबीच, प्रहरी प्रशासनले दुवै पक्षका अभिव्यक्तिहरू संकलन गर्दै घटनाको वास्तविकता बुझ्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रतिक्रिया