काठमाडौं।
अमेरिकी चिप निर्माता कम्पनी एनभिडिया (Nvidia) ले चीनको एआई कम्पनी डीपसिक (DeepSeek) लाई कृत्रिम बुद्धिमत्ता (AI) मोडल परिष्कृत गर्न सहयोग गरेको र ती मोडलहरू पछि चिनियाँ सेनाले प्रयोग गरेको दाबी अमेरिकी सांसदले गरेका छन्।
अमेरिकी प्रतिनिधि सभाको एक समितिका अध्यक्षले बुधबार रोयटर्सले प्राप्त गरेको पत्र मा एनभिडियाको सहयोगबाट डीपसिकले आफ्ना एआई मोडललाई अझ प्रभावकारी बनाएको र ती प्रविधि पछि चीनको सैन्य प्रयोजनमा प्रयोग भएको उल्लेख गरेका छन्।
डीपसिकले गत वर्षको सुरुआतमा सार्वजनिक गरेका एआई मोडलहरूले विश्व बजारलाई तरंगित बनाएका थिए। ती मोडलहरू अमेरिकाका अग्रणी कम्पनीहरूले विकास गरेका अत्याधुनिक एआई प्रणालीसँग प्रतिस्पर्धी मानिएका थिए। विशेष कुरा के थियो भने, डीपसिकका मोडलहरू अत्यन्तै कम कम्प्युटिङ क्षमताको प्रयोग गरेर विकास गरिएको बताइएको थियो।
यस घटनाले वाशिङ्टनमा चिन्ता बढाएको छ। अमेरिकाले चीनलाई उच्च क्षमताका कम्प्युटिङ चिप बिक्रीमा कडा प्रतिबन्ध लगाइरहेका बेला पनि चीनले एआई प्रविधिमा अमेरिकालाई पछ्याउँदै वा उछिन्दै जान सक्ने सम्भावनाबारे गम्भीर प्रश्न उठेका छन्।
अमेरिकी सांसदहरूले एनभिडियाको भूमिकाबारे थप छानबिन आवश्यक रहेको बताएका छन्। यद्यपि, यस विषयमा एनभिडिया वा डीपसिकको तर्फबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।
प्रतिक्रिया