रंजिता सिंह लहान, – सिरहाको लहानमा सम्पन्न पाँच दिने वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमले अब गाउँ–गाउँमा आर्थिक व्यवहार परिवर्तन गर्ने आधार तयार गरेको छ। सहारा नेपालद्वारा सञ्चालन गरिएको उक्त तालिमबाट २१ जना सामुदायिक सहजकर्ता ‘लोकल प्रशिक्षक’का रूपमा तयार भएका छन्।
धनुषा, सिरहा, सप्तरी, उदयपुर र सुनसरीका १७ स्थानीय तहबाट सहभागी भएका सहजकर्ताहरूले अब आफ्नै समुदायमा पुगेर वित्तीय साक्षरता, सुरक्षित आवास र आर्थिक व्यवस्थापनसम्बन्धी ज्ञान विस्तार गर्नेछन्। यसले विशेषगरी विपन्न परिवारमा बचत, बजेट योजना र ऋण व्यवस्थापनमा व्यवहारिक सुधार ल्याउने अपेक्षा गरिएको छ।
JOA को आर्थिक सहयोग तथा ह्याबिटयाट नेपालसँगको साझेदारीमा सञ्चालन भएको ‘होम्स नेपाल’ परियोजना अन्तर्गत वैशाख ६ देखि १० गतेसम्म तालिम सञ्चालन गरिएको थियो। तालिमको मूल लक्ष्य स्थानीय स्तरमै दक्ष प्रशिक्षक उत्पादन गरी सेवा पहुँचलाई विकेन्द्रीकरण गर्नु रहेको आयोजकले जनाएको छ।
तालिमका क्रममा सहभागीहरूलाई आम्दानी–खर्च विश्लेषण, बजेट निर्माण, बचत गर्ने तरिका, ब्याज गणना, ऋण व्यवस्थापन, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा रेमिटेन्सको सही उपयोगजस्ता विषयमा व्यावहारिक अभ्यास गराइएको थियो। साथै, सूक्ष्म उद्यम विकास, व्यवसाय योजना निर्माण, जोखिम व्यवस्थापन र बीमा सम्बन्धी ज्ञानसमेत प्रदान गरिएको थियो।
सहारा नेपालका होम्स परियोजना व्यवस्थापक किशन गौतम, ह्याबिटयाट नेपालका कार्यक्रम संयोजक माधव चौरेल र अनुग्या मिश्रले सहजीकरण गरेको तालिममा सहभागीहरूले सूक्ष्म शिक्षण अभ्यासमार्फत आफैंले प्रशिक्षण दिने सीप पनि विकास गरेका छन्।
समापन कार्यक्रममा सहारा नेपालका कार्यसमिति सदस्य ध्यानबहादुर भारतीको अध्यक्षता तथा फडिन्द्र भण्डारीको विशेष आतिथ्यतामा प्रमाणपत्र वितरण गरिएको थियो।
सहारा नेपालका सिराहा जिल्ला अधिकृत रामभरोसी महतोका अनुसार, “अब यी प्रशिक्षकहरूले समुदायमै पुगेर वित्तीय ज्ञान फैलाउनेछन्, जसले दिगो आर्थिक व्यवस्थापनमा ठोस परिवर्तन ल्याउनेछ।”
तालिममा सहभागीहरूले सिकेका सीप व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउँदै यसले आफ्नो समुदायमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया