logo
  • २०८२ कार्तिक १० | Mon, 27 Oct 2025
  • छठ महापर्वः प्रकृति, आस्था र स्वदेशी विश्वव्यवस्थाको जीवन्त घोषणा

    छठ महापर्वः प्रकृति, आस्था र स्वदेशी विश्वव्यवस्थाको जीवन्त घोषणा

    छठ पर्वको उत्पत्ति प्राचीन सौर्य सम्प्रदायसँग जोडिएको छ, जुन सिन्धु घाटी सभ्यताको पछि मानवको प्रकृति–पूजाको सबैभन्दा पुरातन रूप मानिन्छ ।

    साम्ब पुराणले सौर्य सम्प्रदायलाई नै प्राचीनतममध्ये एक बताउँछ। तथ्यांकको दृष्टिले हेर्दा, मगध साम्राज्य (लगभग ६४८ इसापूर्व) र बज्जी गणराज्य (लगभग ६औं शताब्दी इसापूर्व) को कालदेखि नै यो परम्परा प्रचलनमा रहेको प्रमाण पाइन्छ। मगधका राजा जरासन्ध र उनका वंशजहरू सौर्य उपासक थिए भन्ने ऐतिहासिक उल्लेख छ। यसै कारणले मधेश, बिहार र आसपासका क्षेत्रहरूमा सूर्य मन्दिरहरूको एउटा लामो शृङ्खला पाइन्छ, जसमा देव (बिहार) को प्रसिद्ध देव सूर्य मन्दिर, कोणार्क (ओडिशा) को सूर्य मन्दिर, र उत्तराखण्डको कटारमल सूर्य मन्दिर प्रमुख उदाहरण हुन्।

    एउटा रोचक कथा प्रचलित छः भगवान श्रीकृष्णका पुत्र साम्बलाई कुष्ठ रोग भएपछि, ऋषिहरूको सल्लाहमा उनले सूर्यदेवको तपस्या गरे र चन्द्रभागा नदीमा स्नान गरी सूर्यलाई अर्घ्य दिए। यसले गर्दा उनको रोग निको भयो र उनले देवमा सूर्य मन्दिरको स्थापना गरे। यो कथा सूर्य उपासनाको चिकित्सकीय महत्त्वलाई पनि इंगित गर्दछ।

    धार्मिक दृष्टिकोणबाट हेर्दा, छठमा सूर्यलाई भौतिक ऊर्जा, प्रकाश, आरोग्य, आयु र मोक्षको प्रतीक मानिन्छ। वेदहरूमा सूर्यलाई सम्पूर्ण जीवनको आधार भनिएको छ। ऋग्वेदको एक अन्य मन्त्रमा भनिएको छस् ‘सूर्य आत्मा जगतस्तस्थुषश्च’ अर्थात सूर्य नै स्थिर र गतिशील सम्पूर्ण जगतको आत्मा हुन्।

    छठी माईको अवधारणा पनि यही सौर्य शक्तिसँग जोडिएको छ। लोकमान्यता अनुसार, छठी माई सूर्यदेवकी बहिनी हुन् र संतानहरूको रक्षिका हुन्। नेपाल र बिहारमा शिशुको जन्मको छैठौं दिन छठियार पूजा गरिन्छ, जसको कारण यो देवीलाई ‘छठी माई’ भनिएको हो। वास्तवमा, छठी माई भनेको प्रकृतिको सम्पूर्ण शक्तिको समन्वित रूप हो – सूर्यको ऊर्जा, जलको शुद्धता, पृथ्वीको उर्वरा शक्ति, वायुको प्राण र अग्निको तेज।

    सूर्यको स्पर्शः प्राचीन आयुर्वेद र आधुनिक विज्ञानको अद्भूत मिलन

    छठ पर्वको वैज्ञानिक आधार अत्यन्त रोचक र महत्त्वपूर्ण छ। कात्तिक महिनामा सूर्यको किरण विशेषगरी स्वास्थ्यवर्धक हुन्छन्। आयुर्वेदिक ग्रन्थहरूमा उल्लेख छः’कार्तिके षष्ठी तिथौ सूर्यस्य किरणाः सर्वव्याधिहरणाःू अर्थात कार्तिक महिनाको षष्ठी तिथिमा सूर्यको किरणले सम्पूर्ण रोगहरूलाई नष्ट गर्छ।

    वैज्ञानिक दृष्टिकोणबाट हेर्दा, सूर्योदय र सूर्यास्तको समयमा पराबैजनी किरणहरू (अल्ट्राभ्वाइलेन्ट) र अवरक्त किरणहरू (इन्फ्रारेड) को मात्रा सन्तुलित हुन्छ। यी किरणहरूले विभिन्न रोगका किटाणुहरूलाई नष्ट गर्छन् र शरीरमा भिटामिन डी को संश्लेषणलाई बढाउँछन्। यसैले छठको बेला नदी वा तालाउमा स्नान गर्दा चर्मरोग, पीलिया, हृदयरोग लगायतका रोगहरूमा लाभ हुने विश्वास गरिन्छ। सूर्य चिकित्साको सिद्धान्तअनुसार शरीरमा रहेका विभिन्न रङहरू (क्रोमोथेरेपी) को असन्तुलनले रोग उत्पन्न हुन्छन् र सूर्यको किरणले यसलाई सन्तुलित गर्न मद्दत गर्छ।

    विशेषगरी, नवजात शिशुहरूलाई पीलियो भएको अवस्थामा सूर्योदयको किरणमा राख्ने चलन छ। यसले गर्दा शिशुको शरीरमा अल्ट्राभायलेट किरण पर्छ र पिगमेन्ट सेल्समा रासायनिक प्रतिक्रिया भई बिलिरुबिन तत्त्वको विघटन भई पीलियो रोग निको हुन्छ। आधुनिक चिकित्सा विज्ञानले पनि जन्मिएका बच्चाहरूलाई कृत्रिम अल्ट्राभायलेट किरणयुक्त ल्याम्प (फोटोथेरेपी) मा राख्ने गर्छ, जुन छठको वैज्ञानिक आधारलाई प्रत्यक्ष रूपमा पुष्टि गर्दछ।

    सूर्यको रासायनिक संरचनामा हाइड्रोजन (७३ प्रतिशत), हिलियम (२५ प्रतिशत) र अन्य तत्त्वहरू जस्तैः आइरन, निकेल, अक्सिजन, सिलिकन, सल्फर, म्याग्नेसियम, कार्बन, नियोन, क्याल्सियम, क्रोमियमलगायत तत्त्वहरू पाइन्छन्। यी तत्त्वहरूबाट सात रङ्गको किरण (भिबग्योर) उत्पन्न हुन्छ, जुन शारीरिक उपचार र जीव विकास क्रमको प्रमुख द्योतक हुन्। छठमा डुब्दो र उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ, किनभने यी दुई समयमा सूर्यको किरणहरूले मानिसमा हुने रासायनिक प्रतिक्रिया फरक हुन्छ भन्ने वैज्ञानिक मान्यता छ।

    समानताको सागरः जहाँ जलासयको घाटमा लोप हुन्छ सबै भेदभाव 

    छठको सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमध्ये एक हो यसको सामाजिक समरसता र सामुदायिकताको भावना । यो पर्व आफ्नो पुरोहितविहीन, निर्मध्यस्थ स्वरूपका कारण विशेष बन्छ। यहाँ जात, वर्ण, धन, शिक्षा वा सामाजिक प्रतिष्ठाको कुनै भेदभाव छैन। गंगा, कोसी, गण्डक, कर्णाली आदि नदीहरूका घाटमा सबै व्रतीहरू एकनास रूपमा उभिएर अर्घ्य दिन्छन् – चाहे त्यो मन्त्री होस् वा मजदूर, उद्योगपति होस् वा किसान, ब्राह्मण होस् वा दलित।

    यो परम्परा प्राचीन बज्जी गणराज्यको लोकतान्त्रिक चेतनासँग जोडिएको छ, जहाँ सामूहिक सहभागिता र समानताको भावना प्रबल थियो। बौद्ध ग्रन्थ ‘महापरिनिब्बान सुत्तमा भगवान् बुद्धले बज्जी गणराज्यको सात अपरिहाणीय धम्महरूको प्रशंसा गर्दै भनेका थिए, जबसम्म लिच्छवी गणतन्त्रमा सबैको समान भागीदारी रहनेछ, तबसम्म उनीहरूको उन्नति हुँदै रहनेछ। छठ पर्वले यही लोकतान्त्रिक भावनालाई आजसम्म जीवित राखेको छ।

    यसैगरी, छठ पर्वले धार्मिक सीमालाई पनि नाघेको छ, जसले बहुलताको दर्शनलाई जन्म दिन्छ। हिन्दु, मुस्लिम, बौद्ध, जैन– सबै समुदायका मानिसहरूले यसलाई श्रद्धापूर्वक मनाउँछन्। बिहारको बेगूसराय, मुजफ्फरपुर, वैशाली, समस्तीपुर जस्ता जिल्लाहरूमा धेरै मुस्लिम परिवारहरूले पनि छठ व्रत पालना गर्छन्। यी परिवारहरू गर्वका साथ भन्छन्– उनीहरू रमजानको रोजा पनि राख्छन् र छठको व्रत पनि । दुवै परम्पराहरू उनीहरूको पहिचानको अंग हुन्।

    बाँसको सुप, दउरी, माटोको दियो बनाउने कारीगरहरूमा डोम, माली, लहेरीजस्ता विभिन्न जाति र समुदायका मानिसहरू सामेल हुन्छन्। कुम्हार समुदायका मुस्लिम कारीगरहरूले माटोका दियो बनाउँछन् भने लहेरी वा मालाकार समुदायका मुस्लिम कारीगरहरूले फूलको माला, धागोको लहठी र सजावटको सामग्री तयार पार्छन्। यी सबैले गर्दा छठ पर्व सामाजिक एकताको प्रतीक बनेको छ।

    पृथ्वीको गीतः कृतज्ञताको अन्न, स्वदेशी अर्थतन्त्र र हरित दर्शन

    छठ पर्व कृषि प्रधान संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ। कार्तिक महिनामा धानको कटाई पूरा भएपछि किसानहरूले आफ्नो उपजको कृतज्ञतास्वरूप यो पर्व मनाउँछन्। ऋग्वेदमा भनिएको छः ‘कृषिं च कर्षणीं चू अर्थात कृषि नै जीवनको आधार हो। छठ वास्तवमा कृषि जीवनको कृतज्ञताको महापर्व हो। किसानले आफ्नो खेतबाट उब्जाएको अन्न, तरकारी र फलफूल नै देवतालाई अर्पण गर्छ, जसले गर्दा यो पर्व आत्मनिर्भर र स्थानीय अर्थतन्त्रको पनि प्रतीक बन्छ।

    यस पर्वमा प्रयोग हुने सबै सामग्रीहरू स्थानीय र मौसमी उत्पादनहरू हुन्। ठेकुआ, भुसवा जस्ता पारम्परिक पकवानहरू गहुँको पीठो, गुड र घीबाट बनाइन्छ। गन्ना, नरिवल, केरा, सुन्तला, अदुवा, मुला, गाजर, अरबी, सुथनी लगायत स्थानीय उत्पादनहरू नै प्रसादको रूपमा प्रयोग गरिन्छ। यसले स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्‍याउँदै स्वदेशी चेतना (इन्डिजिनियस कन्सियन्स) को सन्देश दिन्छ।

    पर्यावरणीय दृष्टिले पनि छठ पर्व अत्यन्त महत्त्वपूर्ण छ। यस पर्वमा प्लास्टिक वा अन्य अपघटन नहुने वस्तुहरूको प्रयोग हुँदैन। बाँसको सामग्री, माटोको दियो, पत्तल आदि प्रयोग गरिएकाले यो पर्व पर्यावरणमैत्री छ। आजको युगमा जब सम्पूर्ण विश्व कार्बन फुटप्रिन्ट घटाउने कुरा गर्दछ, छठ पर्वले सयौं वर्षदेखि यही सन्देश दिँदै आएको छ – स्थानीय उत्पादन, न्यूनतम प्रसंस्करण, प्रकृतिसँगको तालमेल। घाटहरूमा प्रसाद र सामग्री बोक्नका लागि प्लास्टिकको झोला प्रयोग नगरी बाँसको टोकरी वा कपडाको थैलो प्रयोग गरिन्छ, जुन आधुनिक पर्यावरण आन्दोलनहरूको लागि पनि प्रेरणादायी छ।

    शान्तिको मार्गः बौद्ध दर्शन र छठको दार्शनिक आत्मीयता

    छठ पर्व र बौद्ध धर्मबीच पनि गहिरो सम्बन्ध रहेको छ। यो सम्बन्ध केवल ऐतिहासिक मात्र होइन, बरु दार्शनिक पनि हो। बौद्ध साहित्य, विशेषगरी पालि त्रिपिटकमा सूर्य र प्रकृतिप्रति गहिरो सम्मान प्रदर्शन गरिएको छ। ‘अंगुत्तर निकायुमा सूर्यलाई ‘लोकचक्खु’ (जगतको आँखा) भनिएको छ – ठीक छठमा सूर्यको पूजा गरिने ढंगजस्तै। ‘महासतिपट्ठान सुत्त’मा पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) मा ध्यान लगाउने उपदेश दिइएको छ – र छठ यही पञ्चतत्वको सामूहिक आराधना हो।

    बौद्ध धर्ममा प्रकृतिप्रति कृतज्ञताको भाव केन्द्रीय छ। छठ पनि मूलतः कृतज्ञताको पर्व हो (ती प्राकृतिक शक्तिहरूप्रति जसले हाम्रो जीवनलाई सम्भव बनाउँछन्। लोकमान्यता अनुसार, भगवान् बुद्धको जन्मपछि उनकी आमा वा फुआले सन्तानको दीर्घायुको लागि छठ व्रत गरेकी थिइन्। यद्यपि यसको प्रत्यक्ष साक्ष्य बौद्ध ग्रन्थहरूमा पाइँदैन, तर यो लोकविश्वास दुवै परम्पराबिचको घनिष्ठतालाई देखाउँछ।

    बौद्ध परम्परामा पनि ‘हारीती’ नामक देवी छिन् जो शिशुहरूको रक्षिका मानिन्छिन्। यो समानता पुनः दुवै परम्पराहरूबीच सांस्कृतिक आदानप्रदानको संकेत दिन्छ। यसले प्रमाणित गर्दछ कि छठ पर्व विभिन्न धार्मिक परम्पराहरूको समन्वयको फल हो। बिहार र नेपालका धेरै बौद्ध गृहस्थहरूले पनि छठ व्रतलाई आफ्नो सांस्कृतिक अभ्यासको रूपमा अपनाएका छन्।

    व्रतीहरूले छठको अवधिमा पूर्ण रूपमा सात्विक जीवन अपनाउँछन्, न प्याज–लसुन, न कुनै प्रकारको अशुद्धता। व्रतीको लागि अलग रसोई, अलग भाँडाकुँडाको व्यवस्था गरिन्छ। यो साधना व्यक्तिलाई भौतिकतावादी दुनियाबाट टाढा लगेर आत्मिक शान्ति र सन्तुष्टिको अनुभूति गराउँछ। यो पर्व आफ्नो सादगी, सात्विकता र गहिरो आध्यात्मिकताका कारण आधुनिकता र वैश्वीकरणको चपेटामा पनि आफ्नो मौलिकताको साथ जीवित रहेको छ।

    बजारवादको विद्रोहः माटोको दियो, बाँसको सुप र स्वदेशीको जयघोष 

    छठ पर्वले हाम्रो स्वदेशी चेतनालाई जगाउने काम गर्दछ। यो त्यो दुर्लभ पर्व हो, जसले आधुनिकीकरण र वैश्वीकरणको तुफानमा पनि आफ्नो मौलिकतालाई पूर्ण रूपमा बचाएर राखेको छ। छठमा न कुनै भव्य मूर्ति छ, न कुनै विशाल मन्दिर, न सुन-चाँदीको देवावटीपन । नदीको साधारण घाट नै पुजास्थल हो, बाँसको साधारण दउरी नै पुजन पात्र हो, र माटोको साधारण दीयो नै आलोक स्रोत हो। यो सादगी नै छठको सबैभन्दा ठुलो विशेषता हो, यसले देखाउँछ कि आध्यात्मिकताको लागि न त भव्य भवनहरूको आवश्यकता छ, न महँगो आयोजनहरूको।

    यो हाम्रो सांस्कृतिक अस्मिताको जयघोष बन्छ। यो दृश्य हाम्रो सामूहिक चेतनाको शक्तिलाई प्रदर्शन गर्दछ, जुन विश्वमा फैलिएका लाखौं प्रवासी नेपाली र भारतीयहरूले आफ्नो नयाँ घरहरूमा पनि यही भावनासँग मनाउँछन्। न्यूयोर्कको स्टेटन आइल्यान्डमा, टोकियोको कोटा नदीमा, लन्डनको थेम्स नदीको किनारमा छठको मंगलगीत गुज्छ, जसले गर्दा यो पर्व अब केवल स्थानीय नरही अन्तर्राष्ट्रिय पहिचान बनेको छ।

    जहाँ अन्य आधुनिक पर्वहरूमा बजारीकरण हाबी भएको छ, त्यहाँ छठले आफ्नो लोक-परम्परालाई अक्षुण्ण राखेको छ। कुनै बहुराष्ट्रिय कम्पनीले छठलाई आफ्नो उत्पादनसँग जोड्न सकेको छैन, कुनै व्यावसायिक संस्थाले यसलाई आफ्नो मुनाफाको साधन बनाउन सकेको छैन। यो पर्व आज पनि त्यत्तिकै शुद्ध छ जत्ति सयौं वर्षअघि थियो।

    छठको प्रसादमा एक पनि आयातित वस्तु हुँदैन। सबै कुरा स्थानीय माटोमा उम्रेको हुन्छः ठेकुआ, भुसवामा गहुँको आटो, गुड, घी, सबै स्थानीय हुन्। गन्ना(उखु), केरा, नरिवल– आफ्नै धरतीको उपज हो। चामलको लावा (देशी धानबाट बनेको हुन्छ। अदुवा, हल्दी, मुला, अरबी आफ्नै खेतबाट खनेको हुन्छ। बाँसको दउरी, सुप, माटोको दियो लगायत स्थानीय शिल्पकारहरूद्वारा निर्मित हुन्छ। यो स्थानीय अर्थव्यवस्थालाई मजबुत बनाउने सबैभन्दा सुन्दर उदाहरण हो। कुनै मल्टीनेसनल कम्पनी, कुनै ठुलो कर्पोरेट, यस पर्वमा उनीहरूको कुनै स्थान छैन। यो पूर्ण रूपमा लोकद्वारा, लोकको लागि आयोजित हुन्छ। यो नै वास्तविक राष्ट्रिय मुक्तिको आधार हो –बहुराष्ट्रिय पूँजीको वर्चस्वबाट स्वदेशी अर्थतन्त्र र सांस्कृतिक अस्मिताको मुक्ति।

    विश्वशान्तिको आधारस्तम्भः एक विखण्डित मानवताको छठको सन्देश

    आजको युगमा जब सम्पूर्ण विश्व जलवायु परिवर्तन, पर्यावरण संकट र सामाजिक विभाजनले ग्रस्त छ, छठ पर्वले हामीलाई समाधानको मार्ग देखाउँछ। यसले सिकाउँछ कि स्थानीय र मौसमी उत्पादनहरूको प्रयोग, जैव(अपघटनीय सामग्री, न्यूनतम कार्बन फुटप्रिन्ट, स्थानीय कारीगर र किसानहरूलाई सशक्त बनाउने, बहुराष्ट्रिय कम्पनीहरूबाट मुक्ति, बजारीकरणको दौरमा पनि आफ्नो मौलिकतालाई बचाएर राख्ने र जात, धर्म, वर्गभन्दा माथि उठेर मानवीय एकताको भावना नै सच्ची प्रगति हो।

    वैश्वीकरणको दौरमा छठ पर्वले हामीलाई आफ्नो सांस्कृतिक जराहरूतर्क फर्कने आह्वान गर्दछ। जब वैशाली, पटना, वीरगन्ज, जनकपुर, विराटनगर, काठमाडौं, मुजफ्फरपुरका घाटहरूमा लाखौं मानिसहरू एकैसाथ ‘केलवा जे फरेला घवद से, हो सहिला संगवत से…’ गाउँदै सूर्यलाई अर्घ्य दिन्छन्, त्यबेला यो केवल एउटा धार्मिक अनुष्ठान मात्र रहँदैन – यो हाम्रो सांस्कृतिक अस्मिताको जयघोष बन्छ। यो दृश्य हाम्रो सामूहिक चेतनाको शक्तिलाई प्रदर्शन गर्दछ, जुन विश्वमा फैलिएका लाखौं प्रवासी नेपाली र भारतीयहरूले आफ्नो नयाँ घरहरूमा पनि यही भावनासँग मनाउँछन्। न्यूयोर्कको स्टेटन आइल्यान्डमा, टोकियोको कोटा नदीमा, लन्डनको थेम्स नदीको किनारमा छठको मंगलगीत गुज्छ, जसले गर्दा यो पर्व अब केवल स्थानीय नरही अन्तर्राष्ट्रिय पहिचान बनेको छ।

    सभ्यताको भविष्यः छठले देखाएको मार्ग

    छठ महापर्व हाम्रो सांस्कृतिक विरासत, वैज्ञानिक दृष्टिकोण, सामाजिक एकता र प्रकृति प्रति कृतज्ञताको अद्वितीय संयोजन हो। यो पर्वले सिकाउँछ, सादगीमै सच्ची भव्यता छ, प्रकृतिसँगको सामंजस्यमै सच्ची प्रगति छ, र सबै मानिसहरूको सहभागितामै सच्चो लोकतन्त्र छ। यसले हामीलाई एउटा यस्तो जीवनशैलीको ओर लग्छ जुन टिकाऊ, समावेशी र आनन्ददायी छ।

    यो पर्व हाम्रो स्वदेशी चेतना को ज्योति हो, जसले बजारवादको अन्धकारलाई नकार्छ। यो बहुलराष्ट्रवाद को आधारस्तम्भ हो, जसले विभिन्न धर्म र संस्कृतिहरूलाई एकताबद्ध गर्छ। यो सामुदायिकता को प्रतीक हो, जसले व्यक्तिवादलाई समुदायको सेवामा उन्मुख गर्छ। र अन्ततः, यो राष्ट्रिय मुक्ति को मार्ग हो – सांस्कृतिक, आर्थिक र मानसिक रूपमा विदेशी वर्चस्वबाट हाम्रो स्वतन्त्रताको घोषणा हो।

    यसरी, छठ महापर्व हाम्रा लागि केवल आस्थाको पर्व होइन, बरु जीवनजस्तो व्यापक र सार्वभौमिक सन्देशको उत्सव हो। यो हाम्रो सांस्कृतिक समृद्धि, धार्मिक सहिष्णुता, सामाजिक समरसता र राष्ट्रिय एकताको त्यो गौरवशाली सन्देश हो जुन सदियौंदेखि अखण्ड छ र आउने पुस्ताहरूको लागि प्रेरणा बनिरहनेछ। हामीलाई हाम्रो जराहरूसँग जोडिरहनेछ, हामीलाई स्वदेशी बनाउनेछ जसले हाम्रो गौरवको बोध गराउँछ, र हामीलाई एउटा समरस, संवेदनशील र प्रकृतिमित्र समाज निर्माण गर्ने ऊर्जा र प्रेरणा दिइरहनेछ। छठको यही सनातन सन्देश नै विश्वशान्ति र सद्भावनाको आधारस्तम्भ हो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०८२ कार्तिक १०, सोमबार १९:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP