logo
  • २०८२ माघ १७ | Sat, 31 Jan 2026
  • नेपाल र चीनका सांस्कृतिक विविधतासँगै फुटबल खेलको उद्घाटन, ड्रयागन नृत्य र पन्चेबाजाको प्रस्तुति

    नेपाल र चीनका सांस्कृतिक विविधतासँगै फुटबल खेलको उद्घाटन, ड्रयागन नृत्य र पन्चेबाजाको प्रस्तुति

    काठमाडौं। चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन सम्बन्ध ऐतिहासिक रूपमा मैत्रीपूर्ण रहेको उल्लेख गर्दै खेलकुद र संस्कृतिलाई जनस्तरको कूटनीतिक सेतुका रूपमा सुदृढ गर्नुपर्नेमा जोड दिएकी छन्।

    कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्लाई यस्तो अर्थपूर्ण पहलका लागि धन्यवाद दिँदै खेलकुदले भाषा, भूगोल र राजनीति भन्दा माथि उठेर मित्रता, सहकार्य र विश्वास निर्माण गर्ने प्रभावकारी माध्यम बन्ने बताइन्।

    उनले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मानमा आधारित रहेको उल्लेख गर्दै विकास, पूर्वाधार, शिक्षा, संस्कृति, पर्यटन र जनस्तरीय आदान–प्रदानमार्फत सम्बन्ध थप सुदृढ हुँदै आएको बताइन्।

    मन्त्री श्रेष्ठले नेपालको विकास यात्रामा चीनबाट प्राप्त सहयोग, विशेषतः पूर्वाधार विकास तथा २०१५ को भूकम्पपछिको मानवीय सहायता र पुनर्निर्माण सहयोगप्रति आभार व्यक्त गरिन्। साथै, चिनियाँ पर्यटकले नेपालको पर्यटन र आर्थिक विकासमा योगदान पु¥याइरहेको उल्लेख गर्दै बुद्ध जन्मभूमि लुम्बिनी र सगरमाथाको देश नेपाल भ्रमण गर्न चिनियाँ नागरिकलाई प्रोत्साहित गरिन्।

    चिनियाँ नयाँ वर्षको महत्वबारे बोल्दै उनले यसलाई नवीकरण, सद्भाव, सहनशीलता र आशाको प्रतीक भएको बताइन्। पछिल्ला वर्षहरूमा नेपालमा लालटिन महोत्सव, ड्रागन बोट उत्सव लगायत सांस्कृतिक कार्यक्रमहरू लोकप्रिय बन्दै गएको उल्लेख गर्दै यी कार्यक्रमहरूले दुई देशका समुदायलाई नजिक ल्याउने भूमिका खेलेको बताइन्।

    मन्त्री श्रेष्ठले सांस्कृतिक तथा खेलकुद कूटनीतिलाई जनस्तरीय सम्बन्ध सुदृढ गर्ने प्रभावकारी माध्यमको रूपमा वर्णन गर्दै युवाहरू, महिला खेलाडी, बालबालिका र ज्येष्ठ नागरिकलाई समेट्ने संयुक्त खेलकुद कार्यक्रम तथा आदान–प्रदान कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखिन्।

    उनले आगामी दिनमा नेपाल–चीनबीच संयुक्त प्रतियोगिता, युवा तथा आधारभूत तहका खेलकुद कार्यक्रम, महिला खेलाडी आदान–प्रदान तथा समावेशी पहलहरूमार्फत सहकार्य अझ विस्तार हुने अपेक्षा व्यक्त गरिन्।

    मन्त्री श्रेष्ठले चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा नेपाल र चीन दुवै देशका जनतालाई सुस्वास्थ्य, खुशी र समृद्धिको शुभकामना दिँदै नेपाल–चीन मित्रता दीर्घायु होस् भन्ने कामना व्यक्त गरिन्। मन्त्री श्रेष्ठले आगामी राष्ट्रिय निर्वाचन सफल बनाउन सबै सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै आ–आफ्नो स्थानबाट लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्न योगदान दिन आग्रह गरिन्। उनले निष्पक्ष, समावेशी र शान्तिपूर्ण निर्वाचन लोकतन्त्रको आधार भएको भन्दै नागरिक, राजनीतिक दल, नागरिक समाज तथा युवाहरूलाई जिम्मेवार सहभागिताका लागि आह्वान गरिन्।

    उद्घाटनको अवसरमा नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत (चार्जे द’अफेयर्स) झोउ पान, नेपालको युवा तथा खेलकुद मन्त्रालयका स्थायी सचिव लोकनाथ पौडेल, राष्ट्रिय खेलकुद परिषद नेपालका सदस्य सचिव राम चरित्र मेहता, एन्फा महासचिव किरण राई, युनान विश्वविद्यालय खेलकुद संस्थानका उप–निर्देशक चेन–हेन छिङको उपस्थिती थियो।

    अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको सयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा नेपाल यू–२० महिला राष्ट्रिय टिम र चीनको युनान प्रान्तको युथ महिला टिमबीच मैत्रीपूर्ण खेल भएको हो। उक्त खेलमा नेपाल यू–२० महिला टोलीले युनान प्रान्तको टोलीलाई ३–१ ले हरायो। खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो। चीनको ड्रयागन नृत्य प्रस्तु गरिएको थियो भने नेपालकोतर्फबाट पन्चेबाजाको प्रस्तुती थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ माघ १७, शनिबार १९:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP