महेश सिंह, लहान – सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मी बढ्दै जाँदा नागरिक उन्मुक्ति पार्टी नेपाल का उम्मेदवार रामाकान्त चौधरी ले संघीयता सुदृढीकरण र संविधान संशोधनलाई मुख्य एजेन्डा बनाउँदै घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
घरदैलो कार्यक्रमका क्रममा चौधरीले वर्तमान संविधान सबै जातजाति र समुदायको भावना समेट्न नसकेको दाबी गर्दै समावेशी र सबैको हित सुनिश्चित गर्ने गरी संशोधन आवश्यक रहेको बताए। “संविधान जनताको साझा दस्तावेज हो, त्यसमा सबैको अपनत्व हुनुपर्छ,” उनले मतदातासँग संवाद गर्दै उल्लेख गरे।
उनले संघीय संरचनालाई व्यवहारमा प्रभावकारी बनाउन अधिकार बाँडफाँट, स्रोत–साधनको न्यायोचित वितरण र स्थानीय तहको सशक्तिकरण अपरिहार्य रहेको धारणा राखे। मधेसका समुदायले भोगिरहेका राजनीतिक तथा प्रशासनिक असन्तुलनलाई समाधान गर्न नीतिगत सुधार आवश्यक रहेको उनको तर्क थियो।
चौधरीले क्षेत्रगत समस्यालाई समेत चुनावी एजेन्डासँग जोडेका छन्। उनका अनुसार राजमार्गको उत्तरपट्टि खानेपानीको अभाव गम्भीर समस्या बनेको छ भने दक्षिणपट्टि नागरिक अधिकारसम्बन्धी सवालहरू अझै सम्बोधन हुन सकेका छैनन्। यी दुवै क्षेत्रका समस्या समाधानका लागि योजनाबद्ध पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
स्थानीयस्तरमा रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आफू जनताको आवाज संसदसम्म पुर्याउने उम्मेदवार भएको उनले दाबी गरे।
सप्तरी–४ मा विभिन्न दलका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका बेला चौधरीले संविधान संशोधन, अधिकार सुनिश्चितता र क्षेत्रगत विकासलाई मूल मुद्दा बनाउँदै मत मागिरहेका छन्। निर्वाचन नजिकिँदै जाँदा मतदाताले परिवर्तन र संशोधनको एजेन्डालाई कत्तिको समर्थन गर्छन् भन्ने विषय अहिले चासोको केन्द्रमा रहेको छ।
प्रतिक्रिया