logo
  • २०८३ कार्तिक ६ | Thu, 22 Oct 2026
  • PHP2Shell जोखिमले बढायो साइबर सुरक्षा चुनौती, सरकारी सेवा अस्थायी बन्द

    PHP2Shell जोखिमले बढायो साइबर सुरक्षा चुनौती, सरकारी सेवा अस्थायी बन्द

    काठमाडौं। विश्वभर बहुप्रचलित पीएचपी  प्रविधिमा ‘PHP2Shell’ नामक अत्यन्तै गम्भीर सुरक्षा जोखिम देखा परेपछि नेपालका केही सरकारी वेबसाइट तथा डिजिटल प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएका छन्।

    साइबर सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका सिभीई-२०२६-१०९६१८ (CVE-2026-109618) र सिभीई-२०२६-१०९६१९ (CVE-2026-109619) नम्बरका यी जोखिमहरूलाई ९.२ को सिभिएसएस (CVSS) स्कोरसहित ‘क्रिटिकल’ श्रेणीमा राखिएको छ।

    यस किसिमको गम्भीर प्राविधिक छिद्रको फाइदा उठाउँदै अनधिकृत आक्रमणकारीहरूले कुनै पनि लगइन वा प्रणालीको पहुँचविना नै सोझै सर्भरमा घातक कोडहरू सञ्चालन (Remote Code Execution) गर्न सक्ने खतरा हुन्छ। सम्भावित ठुलो क्षति, विवरण चोरी वा सरकारी डाटाबेसमाथिको आक्रमणलाई पूर्वसावधानीका रूपमा रोक्नका लागि जोखिमयुक्त प्रणालीहरूलाई तत्कालका लागि निष्क्रिय पारिएको हो।

    बडादसैँको सार्वजनिक बिदाको समयमा समेत प्राविधिक जटिलतालाई सम्बोधन गर्न सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (SDOC) का साथै सम्बद्ध प्राविधिक टोलीहरू निरन्तर चौबीसै घण्टा खटिरहेका छन्।

    प्राविधिक टोलीहरूले प्रभावित सर्भरहरूमा सुरक्षा प्याच (Security Patch) जडान गर्ने, कोड सुदृढीकरण गर्ने र प्राविधिक परीक्षणहरू तीव्र रूपमा अघि बढाउने काम गरिरहेका छन्। सुरक्षा प्रणालीको पूर्ण परीक्षण र सुनिश्चितता सम्पन्न भइसकेपछि बन्द गरिएका सरकारी सेवा तथा वेबसाइटहरूलाई क्रमशः सुरक्षित रूपमा पुनः सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

    अकास्मिक रूपमा आएको यस साइबर सुरक्षा जोखिम र प्रणालीहरूको अस्थायी स्थगनका कारण सर्वसाधारण तथा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति सम्बन्धित निकायले क्षमाप्रार्थी हुँदै धैर्यताका लागि अनुरोध गरेको छ।

    सरकारी तथा निजी क्षेत्रका सम्पूर्ण प्रणाली प्रशासकहरूलाई पनि आफ्ना पीएचपीमा आधारित वेब सर्भरहरू तत्काल अद्यावधिक गर्न र सुरक्षा सतर्कता अपनाउन प्राविधिक विज्ञहरूले आग्रह गरेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८३ कार्तिक ६, बिहीबार २१:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP