नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सभाहलका अधिकांश कुर्सी खाली देखिएका थिए। कार्यक्रमको तयारी र व्यवस्थापन प्रभावकारी नभएको भन्दै केही सहभागी सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका थिए।
संघको नेतृत्व र कार्यशैलीप्रति पनि केही सदस्यले प्रश्न उठाएका छन्। अध्यक्ष विजय साहको नेतृत्वमा संघले व्यापारीहरूको हकहित र व्यवसायसम्बन्धी समस्या समाधानमा अपेक्षाकृत प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनीहरूको गुनासो छ। संघको गतिविधि निष्क्रिय बन्दै गएको भन्दै सदस्यहरूले संगठनलाई थप सक्रिय र सदस्यप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष साहले संघलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयजस्तो बनाउन खोजेको भन्ने गुनासोसमेत केही सदस्यबाट आएको छ।

निर्धारित समयभन्दा ढिलो साधारण सभा: संघको कार्यसमितिको कार्यकाल तीन वर्षको भए पनि साधारण सभा झन्डै नौ महिना ढिलो गरी आयोजना गरिएको सदस्यहरूको भनाइ छ। साधारण सभा तथा अधिवेशन समयमै हुन नसकेको विषयले पनि संघको कार्यशैलीबारे प्रश्न उठाएको छ। यसैबीच, नयाँ नेतृत्व चयनको तयारीसँगै व्यापारीहरू विभिन्न राजनीतिक दलनिकट समूहबाट उम्मेदवारीका लागि लबिङमा जुटेको बताइएको छ। आगामी अधिवेशनमा नेतृत्वका आकांक्षीहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ।
व्यापारीहरूको साझा संस्थाका रूपमा रहेको संघको आगामी नेतृत्वसामु सदस्यहरूको सहभागिता बढाउने, संगठनलाई सक्रिय बनाउने, व्यवसायीका समस्या सम्बोधन गर्ने र संस्थाप्रतिको विश्वास बलियो बनाउने चुनौती देखिएको छ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संघको भावी कार्यदिशा, व्यापारीहरूको हकहित र संस्थागत सुधारका विषयलाई कत्तिको प्राथमिकता दिन्छ भन्ने चासो पनि बढेको छ।
प्रतिक्रिया