महेश सिंह, लहान (सिरहा) — सिरहाको गोलबजार नगरपालिका वडा नं. ५ असनपुरस्थित दोनवारीमा ७ दिने सर्फ (डिटर्जेन्ट) बनाउने तालिम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत आयोजना गरिएको उक्त तालिम २०८३ साल जेठ ६ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको थियो।
गोलबजार नगरपालिकाको सहयोगमा मेहता इन्फर्मेशन टेक्नोलोजी इन्स्टिच्युट प्रा.लि., लहान–१०, सिरहाले आयोजना गरेको तालिममा स्थानीय महिला तथा युवतीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिममार्फत सहभागीहरूलाई सर्फ उत्पादनसम्बन्धी आधारभूत तथा व्यावसायिक सीप प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमकी प्रमुख अतिथि तथा उप–प्रमुख मान्ती साहले यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। “सीप सिकेपछि महिलाहरू आफ्नै घरबाट आयआर्जन गर्न सक्षम हुन्छन्,” उनले भनिन्।
आयोजक संस्थाका अध्यक्ष घुरन महतोले समाजमा यस्ता व्यावसायिक तालिमको अझै आवश्यकता रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
तालिमकी सहजकर्ता पुजा साहले सहभागीहरूलाई व्यावहारिक रूपमा सर्फ बनाउने तरिका, कच्चा पदार्थको प्रयोग तथा सानो लगानीबाट व्यवसाय सुरु गर्ने विधिबारे प्रशिक्षण दिएकी थिइन्। सहभागीहरूले तालिम प्रभावकारी र उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।
यस तालिमबाट प्राप्त सीपले स्थानीय महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै घरेलु उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया