सिरहा – सिरहाको अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीमा बालविवाह तथा सामाजिक विभेदविरुद्ध किशोर–किशोरीको नेतृत्वमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
प्लान इन्टरनेसनलको सहकार्यमा समग्र जन उत्थान केन्द्र (एपेक)द्वारा सञ्चालित उज्ज्वल भविष्य परियोजनाअन्तर्गत गठित उज्यालो किशोर–किशोरी समूहले सडक नाटक तथा जनचेतनामूलक नृत्य प्रस्तुत गर्दै बालविवाह र सामाजिक विभेदविरुद्ध समुदायमा सन्देश प्रवाह गरेको हो।
समूहका सदस्यले बालविवाह, कम उमेरमा हुने विवाह, जबर्जस्ती विवाह, सामाजिक हानिकारक परम्परा, किशोरावस्थामा हुने परिवर्तन, जीवनोपयोगी सीप, अधिकार तथा वकालतसम्बन्धी पाँच दिने तालिम लिएपछि आफ्नै कार्ययोजना तयार गरी कार्यक्रम सञ्चालन गरेका हुन्।
सडक नाटक तथा नृत्यमार्फत बालविवाह र जबर्जस्ती विवाहका कारण व्यक्ति, परिवार तथा समाजमा पर्ने नकारात्मक असर तथा सामाजिक विभेदले सिर्जना गर्ने समस्याबारे समुदायलाई सचेत गराइएको थियो। साथै समानता, समावेशिता र विभेदरहित समाज निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिइएको थियो।
कार्यक्रममा वडासदस्य, अभिभावक तथा किशोर–किशोरीको सहभागिता थियो। किशोर–किशोरी आफैँले योजना बनाएर कार्यक्रम सञ्चालन गर्दा उनीहरूको नेतृत्व क्षमता, आत्मविश्वास र समुदायमा आफ्ना अधिकारका विषयमा वकालत गर्ने क्षमता विकासमा सहयोग पुगेको आयोजकले जनाएको छ।
किशोर–किशोरीलाई समुदायमा सकारात्मक परिवर्तनका संवाहकका रूपमा स्थापित गर्दै बालविवाह न्यूनीकरण र विभेदरहित समाज निर्माणमा उनीहरूको सक्रिय सहभागिता बढाउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकको भनाइ छ।
प्रतिक्रिया