सुनसरी, साउन १५ – सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाको शव शुक्रबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ। सरकार र पीडित पक्षबीच सहमति भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव अन्त्येष्टिका लागि परिवारलाई हस्तान्तरण गरिएको हो।
मृत्यु हुनेमा देवानगन्ज–४ निवासी २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज–३ निवासी २२ वर्षीय जयप्रकाश मेहता रहेका छन्। दुवैको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो। बिहीबार राति सरकार र पीडित पक्षबीच भएको वार्तामा सहमति जुटेपछि शुक्रबार कोशी अस्पतालमा पोस्टमार्टम सम्पन्न गरिएको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पोस्टमार्टमपश्चात् आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव परिवारलाई बुझाइएको छ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगन्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि सरकार र पीडित पक्षबीच औपचारिक सहमति भएको छ। सहमतिअनुसार सरकारले मृतकद्वयलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।
यस्तै, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषयमा समेत सहमति भएको छ।
सहमतिपत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहता र जयप्रकाश मेहताका तर्फबाट नरेश मेहताले हस्ताक्षर गरेका छन्। सरकारका तर्फबाट गृहमन्त्री गुरुङले हस्ताक्षर गरेका छन्।
गत आइतबार राति कप्तानगन्ज क्षेत्रमा दुई समूहबीच भएको विवाद उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा गोली लागेर गम्भीर घाइते भएका ओमप्रकाश मेहताको घटनाकै राति मृत्यु भएको थियो भने जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो।
प्रहरीका अनुसार उक्त घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनाका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको जनाइएको छ।
गोलीकाण्डपछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो। घटनाको प्रभाव सुनसरी बाहिर मधेश प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको थियो।
सिरहामा भएको विरोध प्रदर्शनका क्रममा एक किशोरको मृत्यु भएपछि घटनाले थप संवेदनशील रूप लिएको थियो। यद्यपि पछिल्ला दिनमा सुरक्षा व्यवस्था कडा पारिएसँगै अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।
यसैबीच स्थानीयवासी, नागरिक समाज तथा विभिन्न राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। सरकारले समेत सहमतिअनुसार छानबिन प्रतिवेदन कार्यान्वयन र न्यायिक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया