logo
  • २०८३ बैशाख १६ | Wed, 29 Apr 2026
  • पाखुराको परिधि नाप्दै घर–घर पुग्ने स्वास्थ्य टोली, जोखिममा रहेका बालबालिकालाई निःशुल्क उपचार

    पाखुराको परिधि नाप्दै घर–घर पुग्ने स्वास्थ्य टोली, जोखिममा रहेका बालबालिकालाई निःशुल्क उपचार

    महेश सिंह लहान सिरहा –कुपोषणको प्रारम्भिक पहिचान र तुरुन्त उपचारमा जोड दिँदै सिरहा जिल्लामा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन हुने भएको छ। वैशाख १५ देखि ३० गतेसम्म चल्ने अभियानमा ६ महिनादेखि ५९ महिनासम्मका करिब ६० हजार बालबालिका र करिब १४ हजार ‘सुनौलो हजार दिन’ समूहका आमाहरूको पोषण अवस्था जाँच गरिनेछ।
    दलित विकास मञ्च (DDF) गोलबजार, सिरहाले हेलेन केलर इन्टरनेशनलको आर्थिक सहयोग र स्थानीय तहहरूको समन्वयमा ‘जीवनका लागि पोषण’ कार्यक्रम अन्तर्गत अभियानलाई सघाउने जनाएको छ। अभियानको मुख्य फोकस जोखिममा रहेका बालबालिकालाई छिट्टै पहिचान गरी उपचार प्रणालीमा ल्याउनु हो।
    बालबालिकाको उचाइ, तौल र पाखुराको मध्य भागको परिधि (MUAC) मापन गरेर पोषण अवस्था निर्धारण गरिनेछ। कुपोषण देखिएका बालबालिकालाई स्वास्थ्य संस्थामार्फत बहिरङ्ग सेवाबाट ‘तयारी उपचारात्मक खाना’ (RUTF) निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ।
    अभियानका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय संरचनालाई परिचालन गरिनेछ। खोप केन्द्र, स्वास्थ्य संस्था, सामुदायिक क्लिनिक, वडा कार्यालय तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा जाँच सेवा उपलब्ध गराइनेछ।
    संस्थाका कार्यकारी निर्देशक संजय महराका अनुसार, “समयमै पहिचान नभए कुपोषण जटिल बन्न सक्छ। त्यसैले यस अभियानले जोखिममा रहेका बालबालिकालाई छिटो उपचारमा ल्याउने लक्ष्य लिएको छ।”
    स्थानीय स्तरमै स्क्रिनिङ र उपचार सेवा विस्तारले बालबालिकाको स्वास्थ्य सूचक सुधार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह    
  • २०८३ बैशाख १६, बुधबार १५:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP